जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ।
पछिल्लो समय नेतृत्व चयनको विषयलाई लिएर मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विवाद देखिएपछि आयोगले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो।
मंगलबार सूचना जारी गर्दै आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशनसम्बन्धी सबै गतिविधि रोकिएको जनाएको छ।
निर्णयअनुसार प्रतिनिधि चयनदेखि लिएर निर्वाचन तयारी, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासम्मका सबै कार्यक्रम तत्काल प्रभावबाट स्थगित हुनेछन्।
केन्द्रीय निर्वाचन आयोग प्रमुख पुष्पन केसीले हस्ताक्षर गरेको सूचनामा रोकिएका गतिविधिहरू पुनः सञ्चालन गर्ने मिति, समय तालिका तथा कार्यविधि पछि औपचारिक रूपमा सार्वजनिक गरिने उल्लेख छ।