१५ करोड ५० लाख बढि दिएको खुलासा
काठमाडौं । बजेटअघि करका दर हेरफेर गरी अर्बौं राजस्व हिनामिना गरेको आरोप खेपेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू अध्ययन गरेको बूढानीलकण्ठ स्कुललाई अनुदानमाथि अनुदान दिएको रहस्य खुलेको छ ।
अर्थमन्त्री वाग्लेले उक्त विद्यालयलाई नियमित अनुदानबाहेक १५ करोड ५० लाख रुपैयाँ अनुदान दिएका हुन् । कतिपय सामुदायिक बिद्यालयमा शिक्षक अभाव भएर राम्रोसँग अध्यापन हुनसकेको तथा कक्षाकोठा नै नहुँदा अध्यापनमा समस्या आइरहेका बेला मन्त्री वाग्लेले ‘आफ्नै हात जगन्नाथ’ भनेझैं बूढानीलकण्ठ स्कुललाई अनुदानमाथि अनुदान दिलाएका हुन् ।
सीमित स्रोत साधनका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका सामुदायिक बिद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा पहुँचवालाका छोराछोरी अध्ययन गर्ने बूढानीलकण्ठ स्कुललाई अर्थमन्त्रीले राष्ट्रको ढुकुटीबाट यति ठूलो रकम अनुदान दिंंदा हिमालपारीका जिल्लाहरुमा रहेका विद्यालयहरु भने विद्यालयको संरचना कसरी बनाउने भन्ने चिन्तामा छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयको बजेटमा बूढानीलण्ठ स्कुललाई नियमित छात्रवृत्ति अनुदानबापत ६ करोड अनुदान छुट्याइएको थियोे । त्यसबाहेक मन्त्री वाग्लेले थप १५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् ।
मन्त्री वाग्लेले १५ करोड ५० लाख रुपैयाँ अनुदान दिएपछि पूर्वविद्यार्थीको संगठन बूढानीलकण्ठ अल्मुनाई र उनीनिकटका कर्मचारी खुसी भएका छन् ।
मन्त्री वाग्लेले प्रस्तुत गरेको बजेटमा गण्डकी आवासीय माध्यमिक विद्यालयलाई छात्रवृत्ति अनुदानबापत २ करोड, स्वर्गद्वारी आश्रमलाई ५ लाख, काशी हिन्दू विश्व विद्यालयमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली चेयरको सुविधाबापत ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
आर्थिक वर्ष २०८३/०८४ बजेटमा इलेक्ट्रिक थर्मसदेखि हिटर, थर्मस, प्रिन्टरलगायत दर्जन बढी शीर्षकमा बजेट विनियोजन गरिएको छ । बजेटमा खेलकुदतर्फको चालू बजेट २ करोड ४२ लाख रुपियाँ छुट्टयाएको छ ।
आमागी आर्थिक वर्षको बजेटमार्फत शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको छ । विद्यालय तथा उच्च शिक्षाको सुदृढीकरण, शिक्षामा पहुँच विस्तार, गुणस्तर अभिवृद्धि, नवप्रवर्तन तथा सीप विकासको प्रवर्द्धन र शैक्षिक पूर्वाधार सुधारका लागि विभिन्न कार्यक्रम तथा नीतिहरू घोषणा गरिएको छ ।