Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै, कसले पाए सरकार संचालनको जिम्मेवारी?

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार(आज) अस्पताल भर्ना हुनेछन् । हिजो सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय भएको हो।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री नेपालमा हुँदा कसैलाई पनि कार्यवाहक दिने प्रचलन नभएकाले कार्यवाहक प्रधानमन्त्री नभनी उनलाई कार्यवाहक प्रधानमन्त्रीसरहकै जिम्मेवारी दिइएको हो।

अत्यावश्यक निर्णय गर्नुपरे पोखरेलले मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने तथा प्रधानमन्त्री स्वस्थ हुँदै गएपछि मुख्यसचिवले प्रधानमन्त्रीलाई बैठकका अजेन्डा जानकारी गराएर मन्त्रिपरिषद्को बैठक राख्नेगरी जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।

‘प्रधानमन्त्री स्वदेशमै भएका बेला कसैलाई पनि औपचारिक रुपमा कार्यवाहक प्रधानमन्त्री दिने चलन नभएकाले कार्यवाहक कसैलाई नभनिएको हो तर प्रधानमन्त्री नभएको बेला प्रधानमन्त्रीको काम उपप्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले गर्ने कुरा स्वाभाविकै हुन्छ’, बालुवाटार स्रोतले भन्यो। संविधानमा पनि प्रधानमन्त्री बिरामी भए वा अस्पताल भर्ना भए के गर्ने भन्ने व्यवस्था छैन।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार रहेका छन् । दुवै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077