एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आइतबार सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा पोस्ट गर्दै आइतबार सम्झौता हुने र त्यसलगत्तै विश्वकै महत्वपूर्ण व्यापारिक जलमार्ग 'स्ट्रेट अफ हर्मुज' सबैका लागि खुला गरिने बताएका हुन् ।
उनले सम्झौतापछि उपयुक्त समयमा इरानको परमाणु भण्डार हटाएर नष्ट गरिने समेत उल्लेख गरेका छन्।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, 'यदि परिस्थिति छिटो र सहज रूपमा अघि बढेन भने, वासिङ्टनसँग अन्तिम विकल्प तयार छ, जसको प्रयोग पुनः कहिल्यै गर्न नपरोस् भन्ने मेरो चाहना छ।'
यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने ट्रम्पको दाबीप्रति सटिक प्रतिक्रिया दिँदै हस्ताक्षरको निश्चित मितिका लागि केही समय कुर्नुपर्ने बताएका छन्। उनले सम्झौता आइतबार नै नहुने संकेत गरे ।