एजेन्सी । भारतको आसाम राज्यस्थित जोरहाटमा आज भएको वायुसेना विमान दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
आज बिहान जोरहाटको रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा एएन-३२ विमान अनियन्त्रित भई दुर्घटना भएको थियो ।
यो विमान मुख्यतया सैनिक र सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गरिँदै आएको थियो । उक्त दुर्घटनालगत्तै विमानमा भीषण आगलागी भएको र विमान दुई टुक्रा भएको थियो ।
दुर्घटनालगत्तै एयरबेसमा ‘इमर्जेन्सी प्रोटोकल’ लागू गरियो र दमकल तथा सेनाका जवानहरूले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।
यसैगरी दुर्घटनामा एक जना को-पाइलट पनि घाइते भएका छन्।
दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन। भारतीय वायुसेनाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
एएन-३२ मूल रुपमा सोभियत संघ (अहिले युक्रेन एन्टोनोभ डिजाइन ब्यूरो) द्वारा निर्मित दुई-इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान हो।
यो विमानको प्रयोग सैनिकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान, राहत सामग्री पु¥याउन र प्याराट्रपर्सलाई आकाशबाट ओरोल्नका लागि गरिन्छ।