काठमाडौं । बुधबार लाम्पाटा (बाजुरा)को लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार पुगेको छ।
बाजुरा र हुम्ला जिल्लाबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद चर्किएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको हो।
सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन उक्त स्थानमा अब अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी गरिएको छ।
सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय हुनेछ।
सशस्त्र प्रहरी बल नेपाल का अनुसार निरीक्षकको कमान्डमा खटिएको टोलीलाई सो क्षेत्रमा परिचालन गरिएको हो ।
लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो ।
पछिल्ला केही दिनयता सो सीमावर्ती क्षेत्रमा विवाद चर्किँदै गएको थियो। केहीदिन अघि सीमा विवादको विषयलाई लिएर दुबै पक्षबीच कुटपिट समेत भएको थियो।
शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘केन्द्रीय सुरक्षा बेस’ स्थापना गर्ने निर्णय गरेको थियो ।
सीमा विवाद समाधान र स्थानीय सुरक्षा सुनिश्चित गर्न दुवै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गरिने बताइएको छ ।