काठमाडौं । हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद संसद् प्रवेश गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद खनालले बाजुराको हिमाली गाउँपालिकाको साइपाल क्षेत्रमा जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएको बताए । त्यहाँ वर्षौंदेखि तस्करले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयमा प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको उनले उल्लेख गरे । उनले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको उपचार गर्न सरकारसँग माग गरे ।
उनले भने- 'दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ। राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ।'
साथै हुम्ला र बाजुराको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुर्व्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद जनकराज गिरीले पनि यही जेठ ४ गते हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायत व्यक्तिहरूमाथि सांघातिक आक्रमण गरिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उक्त क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न उनले सरकारसँग माग गरेका छन् ।
हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र ९रानीसैन०मा सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको छ ।
तीन दिनअघि लाम्पाटा च्याचौरमा बाजुरा पक्षले अस्थायी प्रहरी पोस्ट स्थापना गर्न कार्यक्रम राखेको थियो । तर, हुम्लाको खार्पूनाथ गाउँपालिका–२ राय र थाली गाउँका बासिन्दा आएर प्रहरी चौकी स्थापनामा अवरोध गर्दै निर्माण सामग्री नष्ट गरेका थिए ।
बाजुरा पक्ष र हुम्ला पक्षमा कसले चौकी बनाउने भन्ने विषयले विवाद निम्तिएपछि झडपको रूप लिएको थियो ।
केही संख्यामा बाजुराको लाम्पाटा आएका हुम्लाको खार्पूनाथको राय र थाली गाउँका बासिन्दाले लाम्पाटाका स्थानीयमाथि हातपात तथा कुटपिट समेत गरेका थिए ।
कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, ३ नम्बरका वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र प्रहरी सहायक हवल्दार रमेश धामी घाईते भएका छन् ।
त्यसै क्रममा मंगलबार रानीसैन भ्रमणको यात्राका क्रममा २८ जनाको टोलीसहित लाम्पाटा पुगेका धनगढीका नगरप्रमुख गोपाल हमालसहितको टोली र ३५ जनासहित हिमाली गाउँपालिकाको संयुक्त टोलीलाई धम्काएर रानीसैन जान दिइएको थिएन् ।