नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला एक्कासी पहिरो खस्दा ६ जना किसान घाइते भएका छन्।
सोमबार स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाइँ भइरहेको समयमा माथिबाट ठूलो पहिरो खस्दा खेत बगेको र त्यहाँ काम गरिरहेका किसानहरू घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ।
उनलाई झन्डै ८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेहरूको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माथिबाट पहिरो झर्दै आएको देखेपछि अधिकांश किसान समयमै भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।
पहिरोका कारण करिब ७ रोपनी खेत पूर्ण रूपमा बगेको स्थानीय रामशरण भट्टले जानकारी दिएका छन्।