काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेको बताएका छन्।
विदेशमा उपचाररत देउवाले एक सन्देश जारी गर्दै स्वदेश फर्किएपछि पार्टीका नेता–कार्यकर्ता र आमनागरिकसँग पुनः सक्रिय रूपमा भेटघाट गर्ने बताएका छन्।
'सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एक पटक विश्वास दिलाउँदै म स्वदेश फर्किँदै छु,' देउवाले भनेका छन् ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलन, राष्ट्रियता र जनअधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै जननायक बीपी कोइरालाले देखाएको लोकतान्त्रिक मार्ग, राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आफ्नो राजनीतिक यात्राको आधार भएको उल्लेख गरेका छन्।
देउवाले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको रक्षा र जनताको सर्वोच्चताको सम्मान आवश्यक रहेको बताएका छन्। साथै, स्वदेश फर्किएपछि समसामयिक राजनीतिक विषय र पार्टीका गतिविधिमा थप सक्रिय हुने संकेत दिएका छन्।
देउवा गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षणका लागि स्वकीय सचिवसमेत रहेका भतिजा भानु सँग सिंगापुर गएका थिए।
त्यसभन्दा अघि गत भदौमा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा उनी घाइते भएका थिए। घटनामा घाँटीमा चोट लागेपछि उपचारका लागि कात्तिक १० गते पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित सिंगापुर गएका थिए। उपचारपछि उनी कात्तिक २८ गते स्वदेश फर्किएका थिए।
पछि आरजु राणा भारतबाट सिंगापुर पुगेपछि देउवा दम्पती चैतमा हङकङ गएका थिए। त्यतिबेला देउवाको सचिवालयले थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनीहरू हङकङ गएको जनाएको थियो।
हङकङमै रहेका बेला देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको थियो।
तर, प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गराउन पहल गरे पनि इन्टरपोलले राजनीतिक व्यक्तिविरुद्ध यस्तो नोटिस जारी गर्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो।

