काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न गरिएको नेपालको आग्रहलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।
आवश्यक प्रमाण तथा कागजात अपुग रहेको भन्दै इन्टरपोलले नेपाल प्रहरीमार्फत पठाइएको अनुरोध फिर्ता गरेको हो । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उच्च स्रोतका अनुसार गत साता इन्टरपोलबाट पुनः थप कागजात माग गर्दै जवाफ आएको छ ।
प्रहरी स्रोतका अनुसार विभागले पहिलो पटकको अस्वीकृतिपछि थप विवरण समावेश गरेर वैशाख तेस्रो साता पुनः अनुरोध पठाएको थियो । तर, दोस्रो पटक पनि रेड नोटिस जारी गर्न पर्याप्त आधार नपुगेको भन्दै इन्टरपोलले असहमति जनाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २४ चैतमा जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गराएको थियो । पक्राउ पुर्जी जारी हुँदा दुवै जना विदेशमा रहेका थिए । हाल उनीहरू हङकङमा रहेको बताइन्छ ।
यस्तै आजै सर्वोच्च अदालतले पनि देउवा दम्पतीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार दुवै पक्षबीचको छलफलपछि देउवालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।