Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल नामिबियासँग ८ विकेटले पराजित

नेपाल नामिबियासँग ८ विकेटले पराजित

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ ।

यस हारसँगै शीर्ष चारभित्र रहेर सिधै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना थप जटिल बनेको छ ।

मंगलबार नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमै १५७ रनमा समेटिएको थियो। जवाफमा नामिबियाले १५८ रनको लक्ष्य केवल दुई विकेट गुमाएर ३७।४ ओभरमै पूरा गर्दै सहज जित हात पार्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रनको योगदान दिए। गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन जोडे। तर कुनै पनि ब्याटरले लामो इनिङ्स खेल्न नसक्दा नेपाल प्रतिस्पर्धात्मक स्कोर बनाउन असफल भयो।

नेपालको इनिङ्स ध्वस्त पार्न नामिबियाका जेजे स्मिथ नायक बने। उनले ९।५ ओभरमा एक मेडनसहित मात्र २७ रन खर्चेर ६ विकेट लिए। बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले समान दुई–दुई विकेट हात पारे।

जवाफी ब्याटिङमा नामिबियाका जान फ्राइलिंकले उत्कृष्ट अविजित ७८ रन बनाए। उनले ८९ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए। माइकल भान लिंगनले ५१ रनको महत्वपूर्ण योगदान दिए भने जान निकोल लोफ्टी–इटन १७ रनमा अविजित रहे।

फ्राइलिंक र लिंगनले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेपछि फ्राइलिंकले लोफ्टी–इटनसँग तेस्रो विकेटका लागि ५२ रनको अविजित साझेदारी गर्दै नामिबियाको जित सुनिश्चित गरेका थिए।

यस जितसँगै २९ खेलबाट २४ अंक जोडेको नामिबिया तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक नै भए पनि नेपाल पाँचौँ स्थानमा कायम छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077