काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको शक्ति संघर्ष थप चर्किने संकेत गर्दै सभापति गगन थापासँग समर्पण नगर्ने चेतावनी दिएका छन्।
उनले आफूहरू निष्क्रिय नबस्ने र युवालाई साथमा लिएर अझ सशक्त रूपमा अघि बढ्ने घोषणा गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खड्काले, "हामी कोही निष्क्रिय बस्नेवाला छैनौं। युवालाई अगाडि सारेर, युवाको रक्षाकवच भएर अघि बढ्छौं। बरु मर्न तयार छौं, समर्पण गर्दैनौं," भन्दै नेतृत्वलाई स्पष्ट सन्देश दिए।
उनले आफूहरूलाई कुनै पदको लोभ नभएको दाबी गर्दै पार्टीभित्रको एकताका लागि मात्र प्रयास गरिरहेको बताए। "हामीलाई सानेपामा एकै ठाउँमा राख्नुस् भन्दा पद मागेको हो? बार्गेनिङ गरेको हो? हामीलाई पदकै भारी छ, पदको आकांक्षा पनि छैन,"उनले भने।
खड्काले पार्टी एकताको चाबी अहिले सभापति गगन थापाकै हातमा रहेको पनि बताए।
उनले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको प्रसंग जोड्दै, "त्यतिबेला गिरिजाबाबुले चाहेपछि मात्रै पार्टी एकता सम्भव भयो। अहिले सही तपाईंको मात्र चल्छ गगनजी, तपाईंले नचाहेसम्म पार्टी एकता हुँदैन," भने।
सम्बोधनका क्रममा उनले देशको वर्तमान अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे।