काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडित सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न तथा राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिष्मा थापालगायत युवामाथि कुटपिट गरी नियन्त्रणमा लिनु 'अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय' भएको बताएका हुन् ।
उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु र सरकारसँग जवाफ माग्नु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने स्पष्ट पारे।
थापाले सरकारको बल विधिको शासन, सहिष्णुता र उत्तरदायित्वमा देखिनुपर्ने बताउँदै फरक मत र आलोचना सुन्न सक्ने क्षमता नै लोकतान्त्रिक सरकारको वास्तविक शक्ति हुने धारणा व्यक्त गरेका छन्।
उनले आलोचनालाई दमनमार्फत होइन, संवाद र जिम्मेवारीपूर्ण व्यवहारमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै फरक मत र जनताका प्रश्न सुन्न नसक्नु बहादुरी नभई 'सत्ताको चरम कायरता' भएको टिप्पणी गरेका छन्।
यससँगै थापाले पक्राउ परेका सम्पूर्ण युवालाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । अहिले भने उनीहरु रिहा भइसकेका छन् ।