Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

संसद्‌मा भावुक हुँदै गृहमन्त्री गुरुङले भने - मलाई ढाँट्न आउँदैन, यस्तो स्टन्ट गरिरहन्छौं

संसद्‌मा भावुक हुँदै गृहमन्त्री गुरुङले भने - मलाई ढाँट्न आउँदैन, यस्तो स्टन्ट गरिरहन्छौं

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विहिबार त्रिपुरेश्वरमा आन्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय युवक गणेश नेपालीलाई अथक प्रयास गर्दा पनि बचाउन नसकिएको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले नेपालीको मृत्युबारे प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् ।
जवाफका क्रममा उनले सरकार सञ्चालको प्रक्रिया पनि सिकाए । उनले प्रश्न गर्दै भने–‘अहिले आएर हामीले संविधान सिकाउनुपर्ने ? यो दिन आएको हो सदनमा ?’ 

सदनको गरिमा राखिराख्न आग्रह गर्दै उनले नेपाली जनताले धेरै आशा यो पटक गरेको भन्दै ‘एउटौ डुंगामा सवार’ गर्न विपक्षी सांसदहरूलाई आग्रह गरे ।

कसैको पीडालाई राजनीतिकरण नगर्न आग्रह गर्दै उनले भने–‘हामीले अथक प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्‍यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो । हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’

उनले सरकारले आफ्नो दायित्व जसरी पनि पूरा गर्ने बताए । उनले भने–‘नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौं । पूरै गर्छौं । नचाहँदा नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न । म बुझ्छु यी प्रश्न, तर हामी त्यहाँ हुँदा हाम्रो बेस्ट दिएको हो । मलाई ढाँट्न आउँदैन । यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु । म यसरी ढाँट्न मन लाग्दैन ।’

उनले काठमाडौं महानगरपालिकामा अहिले आफ्नो पार्टीको सरकार नभएको भन्दै स्थानीय तहले गरेको कार्यका कारण बिहीबारको घटना घट्न पुगेको बताएका छन् ।

‘तपाईंहरू आफैं भन्नुस्, अहिले काठमाडौंमा स्थानीय सरकार कसको छ ? ह्वील लक लगाएको कसले ? हामीले भनिराख्नुपर्ने ? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने ?’ उनले प्रश्न गरेका छन् ।

गृहमन्त्री गुरुङले कसरी सरकार सञ्चालन हुन्छ भनेर सभामुखमार्फत विपक्षी दलहरूलाई सिकाए । उनले भने–‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ । ’ उनले १० हजार जरिवाना भनेर अफवाहा फैलाइएको भन्दै प्रतिपक्ष सांसदले विधेयक र ऐन छुट्याउन नसकेको बताए ।

उनले पुराना दलहरूले नै बनाएको कानून आफ्नो सरकारले कार्यान्वयन गरिरहेको बताए ।

उनले प्रश्न गर्ने सांसदहरुलाई नै प्रतिपश्न गर्दै भने–‘कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ?  दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानून कसले बनाएको ? तपाईंहरूले कानून बनाएको हो, हामीले त्यही कानून टेकेको हो ।’

आफूले गरेका कामहरूलाई विपक्षीले ‘स्टन्टबाजी’ भनेकोमा उनले चित्त दुखाउँदै त्यसको जवाफ दिए । उनले आफू १० वर्षदेखि विपद् व्यवस्थापनको क्षेत्रमा अनुभव बटुलेको व्यक्ति भएको र जनताको सेवाका लागि कार्यक्षेत्रमा खटिनु स्टन्ट नभई कर्तव्य भएको दाबी गरे । 

उनले भने–‘हामीले हातमा पानी राखेर, देश दुर्घटनामा जाला कि भनेर डराउँदै यहाँसम्म आएका हौँ, यसलाई स्टन्टबाजी भन्नु न्यायपूर्ण छैन ।’ उनले आफूलाई कसैको सामु स्टन्ट देखाउनुपर्ने कुनै रहर नभएको र केवल देशको सेवा गर्न राजनीतिमा आएको स्पष्ट पारे । 
उनले भने–‘मलाई स्टन्टबाजी गर्ने इच्छा छैन, देशको सेवा गर्न आएको हुँ । तर यसरी फिल्डमा गएर जनताको सेवा गर्नुलाई कसैले स्टन्ट भन्छ भने हामी यस्तो स्टन्ट गरिरहन्छौं ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077