Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

पोखरामा अनलाइन जुवा–सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जाल पर्दाफास, ८ जना पक्राउ

पोखरामा अनलाइन जुवा–सट्टेबाजीको अन्तर्राष्ट्रिय सञ्जाल पर्दाफास, ८ जना पक्राउ

शुक्रवार , आषाढ २६, २०८३

पोखरा । कास्की प्रहरीले पोखराबाट सञ्चालन भइरहेको अनलाइन जुवा तथा सट्टेबाजीको संगठित सञ्जालको पर्दाफास गरेको छ । जसमा एक नेपालीसहित आठजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुलाका ३१ वर्षीय दिनेश सिंह बोहोरा तथा भारतका सत्यम सिंह, हर्ष उसरेटे, विशाल चाउ, जमान सिंह तमार, विक्रान सिंह, अजितेश कुमार मिश्र र सत्यम राजपूत रहेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित एक घरमा अनलाइन गेम तथा बेटिङ सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले जीवन श्रेष्ठको घरमा खानतलासी गर्दा अनलाइन सट्टेबाजी सञ्चालन भइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उक्त समूहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको र कम्प्युटर अभिलेखमा २० करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार देखिएको प्रहरीको भनाइ छ ।

एसपी कार्कीका अनुसार उनीहरूले गत चैत १८ गते 'सफ्टवेयर कम्पनी सञ्चालन गर्ने' भन्दै सात कोठे घर भाडामा लिएका थिए। त्यसपछि सोही घरबाट बसोबास गर्दै अनलाइन जुवा, बेटिङ र सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।

अनुसन्धानमा उनीहरूले ह्वाट्सएप, टेलिग्रामलगायत सामाजिक सञ्जालमार्फत विशेष लिंक पठाई ग्राहकलाई रकम डिपोजिट गर्न लगाउने, त्यसपछि दर्ता गराएर विभिन्न खेलमा सट्टेबाजी गराउने गरेको खुलेको छ।

क्रिकेट, फुटबल तथा क्यासिनो खेलहरूमा बाजी लगाइने र जित्ने ग्राहकलाई अनलाइनमार्फत रकम भुक्तानी गरिने गरेको प्रहरीले जनाएको छ।

एसपी कार्कीका अनुसार बरामद गरिएका तीनवटा कम्प्युटरको लेजर परीक्षण गर्दा एउटा प्रणालीमा १ करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, अर्कोमा ९ करोड २ हजार २६ रुपैयाँ र तेस्रोमा १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ गरी कुल २० करोड ६९ लाख ८९ हजार ८३५ रुपैयाँ बराबरको क्रेडिट कारोबार देखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले यो नेटवर्कको मुख्य सञ्चालक भारतीय नागरिक रहेको देखाए पनि उसको पहिचान अझै खुल्न बाँकी रहेको जनाएको छ। पोखरामा सञ्चालन भइरहेको यो नेटवर्क २७औँ शाखा भएको संकेतसमेत अनुसन्धानबाट प्राप्त भएको प्रहरीको दाबी छ ।

प्रहरीले सो घरबाट विभिन्न कम्पनीका सात थान ल्याप्टप, विभिन्न कम्पनीका ६ थान मनिटर, विभिन्न कम्पनीका ३१ थान मोवाईल, किवोड नौ थान, मन्टिप्लक चार थान, १२ भोल्टको व्याट्री एक थान, युपिएस एक थान, राउटर दुई थान, विभिन्न कम्पनीका चार्जर १६ थान, भारतीय सिमकार्ड ३४ थान बरामद गरेको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077