विराटनगर । मोरङको विराटनगरमा गाँजा बोकेको आशंकामा प्रहरीबाट लखेटिएका १७ वर्षीय किशोरको शव तीन दिनपछि पोखरीमा फेला परेको छ ।
विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार बिहान करिब १०ः३० बजे पोखरीको बीच भागमा शव देखिएपछि उद्धार गरिएको थियो ।
प्रहरीका अनुसार गत बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गर्दा चेकजाँचबाट बच्न मञ्जितले मोटरसाइकल छाडेर भागेका थिए। भाग्ने क्रममा उनी नजिकैको पोखरीमा हामफालेर बेपत्ता भएका थिए।
सोही घटनामा मोटरसाइकलको पछाडि सवार भारतका ४१ वर्षीय शिवधर यादवलाई ६ किलो १३० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि बेपत्ता भएका मञ्जितको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा तीन दिनसम्म खोजी अभियान सञ्चालन गरेका थिए।
शव फेला परेपछि पोस्टमार्टमका लागि कोशी अस्पताल लैजाने क्रममा मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले शव उठाउन अवरोध गर्दै किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाही, घटनाको निष्पक्ष छानबिन र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरे।
प्रदर्शनका क्रममा स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गर्नुका साथै शव खोजीमा खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।