काठमाडौं । बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्ससम्बन्धी सातवटा मुद्दामा यसअघि सुनाइएको कैद सजायलाई भारतको दिल्ली उच्च अदालतले सदर गरेको छ । अदालतको पछिल्लो आदेशसँगै उनीमाथिको सजाय यथावत् रहने भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार न्यायाधीश स्वर्ण कान्ता शर्माको इजलासले शुक्रबार प्रत्येक मुद्दामा तीन–तीन महिनाको साधारण कैद सजाय कायम राख्ने फैसला सुनाएको हो। अदालतले सबै सजाय एकैसाथ कार्यान्वयन हुने व्यवस्था गरेको छ।
यसअघि फेब्रुअरीमा अदालतले राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो। त्यसपछि उनको सजाय कार्यान्वयनमा अन्तरिम रोक लगाइएको थियो। तर शुक्रबारको फैसलाले ट्रायल अदालतको निर्णयलाई सदर गर्दै उक्त रोक हटाएको हो।
अदालतले राजपाल यादवलाई प्रत्येक मुद्दामा उजुरीकर्ता कम्पनीलाई १ करोड ५ लाख भारतीय रुपैयाँ भुक्तानी गर्न तथा २५ हजार भारतीय रुपैयाँ राज्यलाई जरिवाना बुझाउन आदेश दिएको छ।
यस्तै, उनकी पत्नी राधा यादवलाई पनि प्रत्येक मुद्दामा उजुरीकर्तालाई ५ लाख ५१ हजार ३८० भारतीय रुपैयाँ तिर्न आदेश दिइएको छ।
फैसलामा अदालतले सेसन अदालतले यसअघि राजपाल यादवले सम्झौताअनुसार गरेको भुक्तानीलाई समेत ध्यानमा राखेर जरिवाना निर्धारण गरेको उल्लेख गर्दै ट्रायल अदालतको निर्णयमा कुनै कानुनी त्रुटि नरहेको निष्कर्ष निकालेको छ।
न्यायाधीश शर्माका अनुसार सुनुवाइका क्रममा उजुरीकर्ता कम्पनी मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडलाई यसअघि नै २ करोड २५ लाख भारतीय रुपैयाँ भुक्तानी गरिसकिएको छ। उक्त रकम अन्तिम जरिवाना तथा क्षतिपूर्ति निर्धारण गर्दा समायोजन गरिने अदालतले जनाएको छ।