एजेन्सी । इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको शुक्रबार उत्तरपूर्वी सहर मशहदस्थित देशकै पवित्र धार्मिकस्थलमध्ये एक इमाम रेजा दरगाहमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिमा लाखौं समर्थक सहभागी भएका थिए । सरकारी सञ्चारमाध्यमका अनुसार अन्त्येष्टिअघि इरान र इराकका विभिन्न सहरमा एक सातासम्म शोक यात्रा, श्रद्धाञ्जली सभा तथा सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिएको थियो।
ती कार्यक्रममा लाखौं मानिसको सहभागिता रहेको जनाइएको छ। खामेनीको शव बिहीबार मशहदका मुख्य सडक हुँदै ट्रकमार्फत इमाम रेजा दरगाह पुर्याइएको थियो।
सुनौलो गुम्बज र अग्ला मिनारले चिनिने दरगाहतर्फ शवयात्रा अघि बढ्दा सेता पगडीधारी धर्मगुरुहरू ट्रकसँगै हिँडेका थिए भने हजारौं शोकाकुल समर्थकले इरानी झण्डा, खामेनीका तस्बिर र क्रान्तिकारी नारासहितका प्लेकार्ड बोकेका थिए।
यद्यपि, खामेनीका छोरा तथा हालका सर्वोच्च नेता मोज्तबा अली खामेनी भने अन्त्येष्टिमा पनि सार्वजनिक रूपमा देखिएनन् । उनी अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक कार्यक्रममा अनुपस्थित छन् ।