Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

यूएई पठाएर विद्यार्थीलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएई पठाएर विद्यार्थीलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा उच्च शिक्षाका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थीलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेकाहरूले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको एमओएचईएसआर/कमिसन फर एकेडेमिक एक्रेडिटेसन (सीएए) बाट मान्यता प्राप्त नभएका कलेजहरूमा नेपाली विद्यार्थी भर्ना गराउँदै आर्थिक ठगी गरेको आरोप छ।

पक्राउ पर्नेमा डिल्लीबजारस्थित इड्युपोर्ट प्रालिका सञ्चालक रूपक कोइराला, राजेश भण्डारी र सन्तोष खतिवडा रहेका छन्।

यस्तै, पुतलीसडकस्थित वेस्टफोर्ड एजुकेसन प्रालिका सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), बानेश्वरस्थित प्रोप एभिएसन प्रालिका सञ्चालक सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डे तथा कालिमाटीस्थित एस्पायर ग्लोबल प्रालिका सञ्चालक विशाल चापागाईं पनि पक्राउ परेका छन्।

सीआईबीका सूचना अधिकारी एसएसपी अनुपम शमशेर ज.ब.राका अनुसार उनीहरूले विद्यार्थीलाई यूएईका ती कलेजहरूमा अध्ययन गरेपछि फ्रान्स, अस्ट्रेलियालगायतका देशका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ हुने र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त डिग्री हासिल गर्न सकिने भन्दै आकर्षक आश्वासन दिएका थिए।

तर ती कलेजहरू सम्बन्धित निकायबाट मान्यता प्राप्त नभएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

विद्यार्थी र अभिभावकलाई झुक्याएर ठूलो रकम असुली गरेको उजुरीपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबैमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसएसपी अनुपम ज.ब.राले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077