Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेलिकप्टर रेस्क्युको नाममा ठगी धन्दा : ३१७ फेक रेस्क्यु, २ अर्ब ८९ करोड लुट !

हेलिकप्टर रेस्क्युको नाममा ठगी धन्दा : ३१७ फेक रेस्क्यु, २ अर्ब ८९ करोड लुट !

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेपालमा पर्वतारोहण र ट्रेकिङ पर्यटनको आडमा व्यापक ‘फेक रेस्क्यु’ धन्दा चलेको तथ्य प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पछिल्ला चार वर्षमा मात्रै ३१७ जना विदेशी पर्यटकलाई नक्कली उद्धार गराई विदेशका बीमा कम्पनीहरूबाट करिब २ अर्ब ८९ करोड रुपैयाँ ठगी गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खुलासा गरेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख डा. मनोज केसीले साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान गरिएको जानकारी दिए ।

उच्च हिमाली क्षेत्रमा घुम्न आएका पर्यटकलाई सामान्य लेक लागेजस्ता समस्या देखाएर हेलिकप्टरमार्फत उद्धार गरिएको देखाइ अस्पताल भर्ना गराउने, त्यसपछि बीमा कम्पनीमा भारी रकम दाबी गर्ने संगठित गिरोह सक्रिय रहेको सीआईबीको निष्कर्ष छ ।

सीआईबीका अनुसार सन् २०२२ यताका फेक रेस्क्युमा तीन वटा कम्पनीको मुख्य संलग्नता देखिएको छ। तीमध्ये माउन्टेन रेस्क्यु सर्भिस प्रा.लिले १७१ जना, नेपाल चार्टर्ड सर्भिस ले ७५ जना र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालि ले ७१ जनाको शङ्कास्पद उद्धार गराएको पाइएको छ ।

एआईजी डा. केसीका अनुसार आरोपीहरूले उद्धारअघि नै पर्यटकको इन्स्योरेन्स पोलिसीको विवरण संकलन गर्ने, त्यसपछि मिलेमतोमा हेलिकप्टर बोलाएर ‘रेस्क्यु’ देखाउने र अस्पतालसँग मिलेर कागजात तयार गरी बीमा दाबी गर्ने गरेका थिए ।

अनुसन्धानका क्रममा सोलुखुम्बुको खुम्बु क्षेत्रबाट एक जना पर्यटकसँग एउटा हेलिकप्टर फ्लाइटकै लागि ३१ सय अमेरिकी डलरसम्म असुलिएको तथ्य पनि खुलेको छ।

पर्यटकलाई हिमालको बेसक्याम्पसम्म घुमाएर फर्किँदा ‘रेस्क्यु’ भनेर हेलिकप्टर मगाउने र त्यसलाई आपतकालीन उद्धारको कागजात बनाउने गरिएको पाइएको एआईजी डा. केसीले बताए ।

यस प्रकरणमा संलग्न आरोपमा सीआईबीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया, एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077