Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘फेक रेस्क्यु’ घोटाला : ३३ आरोपितको सम्पत्ति छानबिनमा, करोडौँ कमाइको स्रोत खोज्दै सिआइबी

‘फेक रेस्क्यु’ घोटाला : ३३ आरोपितको सम्पत्ति छानबिनमा, करोडौँ कमाइको स्रोत खोज्दै सिआइबी

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । पर्यटकलाई उद्धारको नाममा ठगी गर्दै बिमा रकम हत्याउने चर्चित ‘फेक रेस्क्यु’ प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान तीव्र पारेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबारदेखि मुद्दा दायर भइसकेका ३३ जनाको सम्पत्तिमाथि विस्तृत छानबिन सुरु गरेको हो ।

पहिलो चरणको अनुसन्धानपछि गत ८ चैतमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले सोही समूहले अवैध रूपमा आर्जन गरेको भनिएको सम्पत्तिको स्रोत खोज्न ‘सम्पत्ति शुद्धीकरण’ अन्तर्गत अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ । सिआइबीले अनुसन्धान अधिकृतहरूलाई जिम्मेवारी तोक्दै सम्पत्ति रोक्का प्रक्रिया समेत सुरु गरिसकेको जनाएको छ ।

सिआइबीका अनुसार ‘फेक रेस्क्यु’ नेटवर्कबाटै करोडौँ रुपैयाँ आर्जन भएको प्रारम्भिक सूचना छ । पहिलो चरणको अनुसन्धानमै एक अर्ब ५१ करोड रुपैयाँ बराबरको बिगो कायम गरिएको थियो । यसअघि पक्राउ परेका ११ जना धरौटीमा छुटिसकेका छन् । 

अनुसन्धानले देखाएअनुसार ट्रेकिङ गाइड, हेलिकोप्टर चार्टर कम्पनी र अस्पतालबीच मिलेमतो गरेर पर्यटकलाई सामान्य स्वास्थ्य अवस्थामै जबर्जस्ती उद्धार गरिन्थ्यो। त्यसपछि अस्पतालमा राखेर अत्यधिक बिल बनाइन्थ्यो र सो रकम बिमा कम्पनीमार्फत असुल गरिन्थ्यो।

यो संगठित ठगीमा ट्रेकिङ कम्पनी, एयर चार्टर सेवा र अस्पताल सञ्चालकसम्मको संलग्नता देखिएको छ। प्रकरणमा संलग्न विभिन्न कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरू पक्राउ परेका थिए भने केही फरार सूचीमा राखिएका व्यक्तिहरू पनि पछि अदालतमा उपस्थित भई धरौटीमा छुटेका छन्।

माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका मालिक रवीन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया, एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका मालिकद्वय मुक्ति पाण्डे र सुभाष केसी, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना र प्यानरोमा हिमालय ट्रेकिङ एन्ड एक्पेडिसनका सञ्चालक पासाङ शेर्पा, रोयल होलिडेज एड्भेन्चर्सका सन्दीप तिवारी र नेपाल चार्टर सर्भिसका पूर्वसञ्चालक खोमराज अधिकारी पनि पक्राउ परेका थिए ।

सुरुमा सरकारी वकिल कार्यालयले हवाई सुरक्षाविज्ञ बताउने राजेन्द्रबहादुर सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । पछि महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको निर्णयका आधारमा सिंहविरुद्ध पनि मुद्दा दायर भसकेको छ ।

उनीहरूविरुद्ध संगठित अपराध, राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । फरार बनाएर मुद्दा दायर भएका कतिपय अदालतमा उपस्थित भएर धरौटीमा छुटिसकेका छन् ।

फरार बनाएर मुद्दा दायर गरिएकाहरूमा विवेकराज थपलिया, डा. मिनल्मा पाण्डे, श्यामसुन्दर कँडेल, सन्दीप ढुंगाना, शान्तकुमार बानियाँ, विनोद सापकोटा, जीवन पाण्डे, भानु ढकाल, फुर्वाछिरिङ शेर्पा, ममिता भट्ट, चुङ्ला शेर्पा, तेन्जिङ शेर्पा, पासाङ दाबा शेर्पा, बद्री लम्साल, कवीन्द्र लम्साल, सन्दीप भण्डारी, प्रकाशबाबु दाहाल, चन्द्र प्याकुरेल, कुमार भण्डारी, गणेश सिलवाल, श्रीराम केसी र रामकुमार फुयाँल छन् । उनीहरूको सम्पत्तिउपर छानबिन अघि बढेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077