मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक विद्यालय बस चालक छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार, सुन्दरहरैचा–१२ निवासी ३५ वर्षीय अबिरल मास्के र सोही स्थानका ४० वर्षीय विद्यालय बस चालक प्रदीप भट्टराई रहेका छन् ।
विद्यालयका छात्राहरूले आफूहरूमाथि दुर्व्यवहार भएको आरोप लगाएपछि विद्यार्थीहरू शिक्षकविरुद्ध प्रदर्शनको तयारीमा उत्रिएका थिए।
घटनाले विद्यालयमा तनावको अवस्था सिर्जना हुन थालेपछि प्रहरीले सोमबार तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
प्रहरीले घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।