Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ममदानी–नेतन्याहु द्वन्द्वबारे बोले ट्रम्प, भने–कुनै पनि वहानामा अमेरिकामा पक्राउ गरिदैन

ममदानी–नेतन्याहु द्वन्द्वबारे बोले ट्रम्प, भने–कुनै पनि वहानामा अमेरिकामा पक्राउ गरिदैन

ममदानीले भित्रभित्रै अमेरिकालाई पनि घृणा गर्ने नेतन्याहुको दावी

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कुनै पनि परिस्थितिमा संयुक्त राज्य अमेरिकामा पक्राउ नगरिने बताएका छन्।

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले नेतन्याहु न्युयोर्क आएमा गिरफ्तार गरिने सम्भावना रहेको बताएपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो। 

मेयर ममदानीले इजरालयका प्रधानमन्त्री नेतन्याहु आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क आए आफ्नो कानूनी विभागले उनलाई पक्राउ गर्ने विषयमा विचार गरिरहेको बताएका थिए। 

द न्युयोर्क टाइम्सको पोडकास्ट ‘द इन्टरभ्यु’मा ममदानीले भनेका छन्–‘हाम्रो कानूनी विभागले नेतन्याहुको सम्भावित गिरफ्तारीको कानूनी पक्षका विषयमा सक्रिय रूपमा छलफल गरिरहेको छ।’

त्यसपछि ट्रम्पले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै त्यसको खण्डन गरेका हुन्।

उनले लेखेका छन्–‘बेन्जामिन नेतन्याहुलाई संयुक्त राज्य अमेरिकामा रहँदा कुनै पनि हिसाबले पक्राउ गरिने छैन। उनी इरानविरुद्ध लडिरहेका छन्, जसले हालै ५२,००० निर्दोष प्रदर्शनकारीको हत्या गरेको छ र ४७ वर्षदेखि अमेरिकी सैनिकहरूसहित धेरैलाई मारिरहेको छ। गिरफ्तार त उनीहरूलाई गरिनुपर्छ, जसले इरानलाई मृत्यु र विनाशको भड्खालोमा धकेले। यो मामिला अघिल्ला राष्ट्रपतिहरूले वर्षौंअघि नै सम्हाल्नुपर्थ्यो।’

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित धेरै जना नेताविरुद्ध २०२४ मा पक्राउ पुर्जी जारी गरेको थियो। उनीविरुद्ध २०२३ अक्टोबर ७ मा हमासको हमलापछि गाजामा युद्ध अपराध गरेको अभियोग लगाइएको छ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले आईसीसीको त्यो पक्राउ पुर्जीको आलोचना गरेका थिए।

यहीबिच न्युयोर्कका मेयर ममदानीले नेतन्याहु आए गिरफ्तार गर्ने सम्भावना रहेको भनेपछि सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ। धेरै मानिसले यसलाई ममदानीको घमण्ड भनेका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ममदानीले भनेअनुसार नेतन्याहुलाई गिरफ्तार गर्न किन सकिँदैन भनेर बताएका छन्।

उनले एक्समा लेखेका छन्–‘मेयर ममदानी १ संयुक्त राष्ट्रसंघको महासभाको समयमा न्युयोर्कमा प्रधानमन्त्री नेतन्याहुलाई पक्राउ गर्ने तपाईंको धम्की कार्यान्वयन हुन नसक्ने चार कारण बताउँछु।’

पहिलो–संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत जुन कानूनी–व्यवस्थामा आधारित छ, त्यस सन्धिको पक्षधर होइन।

दोस्रो–संयुक्त राष्ट्रसंघको मुख्यालय सम्झौताले संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिने विदेशी सरकार प्रमुखहरूलाई कूटनीतिक सुरक्षा प्रदान गर्दछ।

तेस्रो–यस्ता घटनामा राष्ट्र प्रमुख वा सरकार प्रमुखको कानूनी उन्मुक्ति पनि लागु हुन्छ।

र, चौथो–विदेश नीति र यस्ता कानूनी मामिलामा संघीय सरकारको अधिकार स्थानीय प्रशासनभन्दा माथि हुन्छ, त्यसैले यस्तो कारबाही न्युयोर्कका मेयरको इच्छा वा घोषणाबाट गर्न सकिँदैन।’

यसैगरी संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डानोनले पनि ममदानीको भनाइ केवल समाचारका लागि मात्र भएको टिप्पणी गरेका छन्। 

उनले एक्समा लेखेका छन्–‘जोहरान ममदानी न्युयोर्कको शासन गर्न असफल भएका छन्। मेयरका रूपमा आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गर्नु र सहरमा बढ्दो यहुदीविरोधी घटना सम्बोधन गर्नुको सट्टा उनले इजरायलविरुद्ध आक्रमण गरेर विवाद सिर्जना गर्ने र हेडलाइन बनाउने बाटो रोजेका छन्।’

उनले अगाडि लेखेका छन्–‘यसले केही पनि परिवर्तन हुनेवाला छैन। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु न्युयोर्क आउनेछन्, गर्वका साथ संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् र विश्वसामु इजरायलको स्थिति र आफ्ना नागरिकको सुरक्षा गर्ने अधिकारको कुरा राख्नेछन्। र, यदि कसैलाई पक्राउ गर्नुपर्छ भने त्यो न्युयोर्कका मेयर जोहरान ममदानी हुन्।’

यस विषयमा इजरायलका लागि अमेरिकाका पूर्वराजदूत डान सापिरोले पनि टिप्पणी गरेका छन्। 

उनले लेखेका छन्–‘मेयर ममदानीलाई सन्देशः नेतन्याहु हाल आफ्नो राजनीतिक अस्तित्वका लागि लडिरहेका छन्। इजरायलमा धेरै मानिस उनीसँग रिसाएका छन् र अर्को चुनाव आउँदा उनलाई सत्ताबाट हटाउन चाहन्छन्। यदि न्युयोर्कमा उनलाई पक्राउ गर्ने असफल प्रयास गरियो भने सबैभन्दा सम्भावित परिणाम के हुन्छ भने उनले आफ्नो देशमा राजनीतिक सहानुभूति र समर्थन प्राप्त गर्नेछन्। यस्तो कदम उनका विरोधीहरूको सट्टा नेतुन्याहुका लागि फाइदाजनक साबित हुन सक्छ। अर्को शब्दमा यो आत्मघाती गोल हुन सक्छ।’

मानव अधिकारकर्मी तथा इजरायल–अस्ट्रेलिया यहुदी परिषद्का अध्यक्ष आर्सेन ओस्ट्रोव्स्की लेख्छन्–‘इजरायलका प्रधानमन्त्री नेतन्याहु न्युयोर्क आएमा पक्राउ गर्ने जोहरान ममदानीको भनाइ गैरजिम्मेवार राजनीतिक बयानबाजी मात्र होइन, यसले अन्तर्राष्ट्रिय कानुन, अमेरिकी कानुन र मेयरको अधिकारका विषयमा उनमा रहेको गम्भीर भ्रम पनि प्रदर्शन गर्छ।’

यसैबिच रेडियो होस्ट सिड रोजेनबर्गसँग नेतन्याहुले हालै गरेको कुराकानी सामाजिक सञ्जालमा छाएको छ। रोजेनबर्ग ममदानीका कट्टर आलोचक हुन्। 

रोजेनबर्गसँगको कुराकानीमा नेतन्याहुले ममदानी हमाससँग सहानुभूति राख्ने व्यक्ति भएको आरोप लगाएका छन्।

नेतन्याहुले अगाडि भनेका छन्–‘उनी इजरायलको निन्दा गरिरहेका छन्, जुन एक मात्र लोकतान्त्रिक देश हो र अमेरिकी मूल्य(मान्यतासँग काँधमा काँध मिलाएर उभिएको छ। उनी कसलाई समर्थन गर्छन्रु हमास, जो खुलमखुला संसारका प्रत्येक यहुदीको विनाशका लागि आह्वान गर्छ र भयानक हमला गर्छ, जुन होलोकास्टपछि यहुदीविरुद्धको सबैभन्दा ठुलो नरसंहार थियो। ‘ममदानीलाई के कुराको हेक्का छैन भने जो यहुदी र इजरायललाई घृणा गर्छन्, उनीहरू अन्ततः अमेरिकालाई पनि घृणा गर्छन्। मलाई लाग्छ–उनी (ममदानी) भित्रभित्रै अमेरिकालाई पनि घृणा गर्छन्।’–एजेन्सी

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077