एजेन्सी । भारतको संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार राजधानी दिल्लीमा एनइइटी (NEET) मेडिकल प्रवेश परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि तनाव सिर्जना भएको छ।
‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा आयोजित ‘संसद् चलो’ मार्चमा सहभागी हुन हजारौं प्रदर्शनकारी जन्तरमन्तर क्षेत्रमा भेला भएका थिए। प्रहरीले अनुमति नदिए पनि उनीहरू संसद् भवनतर्फ अघि बढ्न खोजेपछि सुरक्षा बलले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रदर्शनकारीहरूले एनइइटी परीक्षामा भएको भनिएको धाँधलीको निष्पक्ष छानबिन र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीको ब्यारिकेड तोड्ने प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। घटनामा केही प्रदर्शनकारी र प्रहरी अधिकारी सामान्य घाइते भएका छन्।
सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मध्य दिल्लीका केही क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।
यसैबीच, सीजेपीले आफ्ना समर्थकलाई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न र संयम अपनाउन आग्रह गरेको छ।
प्रदर्शनका कारण दिल्ली मेट्रोका राजीव चोक, जनपथ, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थलगायत पाँच प्रमुख स्टेशन अस्थायी रूपमा बन्द गरिएका थिए। यसले सयौं यात्रु प्रभावित भएका छन् भने विशेषगरी राजीव चोक स्टेशनमा यात्रुको अत्यधिक भीड देखिएको छ।
भारतमा पछिल्लो समय विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएका अनियमितताका कारण विवाद चुलिएको छ ।
विशेषगरी भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट प्रशासनिक कमजोरी तथा परीक्षा व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा रहेको छ ।
यसअघि जेठ २३ गते पनि प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएइका थिए ।