मोरङ । मोरङको रङ्गेली नगरपालिका–६ स्थित पुरानो भन्सार क्षेत्रमा मलद्वारभित्र लुकाएर खैरो हेरोइन नेपाल भित्र्याउन खोज्ने एक युवतीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ घर भई हाल मोरङको पथरीशनिश्चरे–१ बस्दै आएका २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेली तथा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाको संयुक्त टोलीले जाँच गरेको थियो ।
जाँचका क्रममा दुवैले मलद्वारभित्र कालो प्लास्टिकको पोका लुकाएर लागूऔषध ओसारपसार गरिरहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले सम्योकको साथबाट १५ ग्राम ४४ मिलिग्राम र भूमिकाको साथबाट ११ ग्राम ०७ मिलिग्राम गरी कुल २६ ग्राम ५१ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ।
बरामद लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।