बुटवल । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छपाइ तथा कारोबारमा संलग्न संगठित गिरोहमाथि सञ्चालन गरेको ‘अपरेशन चार्ली’ अन्तर्गत ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा–१ का किरण कृष्ण तिवारी, भक्तपुरको चाँगुनारायण–१ का रामचन्द्र खत्री, कपिलवस्तुको बाणगंगा–२ का सञ्जय थारू, दोलखाको शैलुङ–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडीका ४९ वर्षीय बासुमित्र आनन्द रहेका छन् ।
रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार बुटवलकी गंगाकुमारी पुर्वछानेले एक सेवाग्राहीसँग क्यूआरमार्फत २ हजार १०० रुपैयाँ लिएर एक हजार दरका दुई वटा नक्कली नोट दिएको उजुरी इलाका प्रहरी कार्यालय बुटवलमा परेपछि अनुसन्धान सुरु गरिएको थियो ।
पुर्वछानेलाई पक्राउ गरी सोधपुछ गर्दा पोखराका किरण कृष्ण तिवारीको संलग्नता खुलेको थियो । तिवारी पक्राउ परेपछि अनुसन्धानको दायरा विस्तार हुँदै भक्तपुरका रामचन्द्र खत्रीसम्म पुगेको प्रहरीले जनाएको छ ।
खत्रीसँगको अनुसन्धानपछि प्रहरीले बुटवल उपमहानगरपालिका–१३, जितगढीस्थित बालकुमारी घर्ती मगरको नाममा भाडामा लिएको कोठामा छापा मारेको थियो । त्यहाँ नक्कली नेपाली नोट उत्पादन गर्ने गोप्य केन्द्र सञ्चालन भइरहेको खुलेको प्रहरीले जनाएको छ ।
छापाका क्रममा प्रहरीले एक हजार दरका ४७८ थान नक्कली नोट तिवारीको साथबाट तथा १०३ थान नक्कली नोट पुर्वछानेको घरबाट बरामद गरेको छ।
त्यसैगरी घटनास्थलबाट फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नोटमा प्रयोग हुने विशेष केमिकल, ब्ल्याक पेपर, नक्कली नोट बनाउन प्रयोग गरिने कागज, मोबाइल फोनलगायतका उपकरण पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै जनाविरुद्ध मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।