काठमाडौं । राजधानीमै नक्कली नोट छाप्ने कारखाना सञ्चालन भइरहेको खुलासा भएको छ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा छापा मारेर प्रहरीले नक्कली नोट छाप्ने कारखाना फेला पारेको हो ।
छापाको क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घर भएका २८ वर्षीय रवी कुमार श्रीवास्तव रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्ध वृत्तको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना भारतीय नक्कली नोट छाप्न प्रयोग हुने मेसिन काठमाडौंसम्म ल्याउने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छापाका क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल, भारु ५ सय दरका ३१७ थान नक्कली नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोललगायत नक्कली नोट छाप्न प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।