काठमाडौं । सिरहामा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल मधेश प्रदेशको असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टर मल्ललाई उत्कृष्ट कार्यसम्पादन, अपराध नियन्त्रण र शान्ति सुरक्षामा पुर्याएको योगदानको मूल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
बुधबार मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले इन्स्पेक्टर मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका छन्।
मधेश प्रदेश प्रहरीले मल्लले संगठनले दिएको जिम्मेवारीलाई उच्च लगनशीलता, कर्तव्यनिष्ठा र व्यावसायिकताका साथ निर्वाह गरेको जनाएको छ । उनले समाजमा शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तथा लागूऔषध नियन्त्रण अभियानमा महत्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाइ छ।
हाल इलाका प्रहरी कार्यालय महेशपुर, सिरहाका प्रमुख रहेका इन्स्पेक्टर मल्लले पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने लागूऔषध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका थिए । उनले गत असार ७ गते सिरहा नगरपालिका–२१ लगडीगोठबाट कुख्यात लागूऔषध कारोबारी भनिएका भारतीय नागरिक २८ वर्षीय रंजितकुमार पासवान (छोटु) लाई नियन्त्रणमा लिएका थिए । यस्तै, असार १९ गते नवराजपुर गाउँपालिका–५ को सीमावर्ती क्षेत्रबाट भारतको मधुवनी जिल्लाका अब्दुल कलामलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको थियो ।
उक्त कारबाहीका क्रममा दुवै जनालाई नियन्त्रणमा लिन प्रहरीले खुट्टामा गोली प्रहार गर्नुपरेको जनाएको छ।
त्यसैगरी, नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदाय मृत्यु प्रकरणका फरार अभियुक्तहरू २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवलाई सीमावर्ती क्षेत्रबाट पक्राउ गर्न पनि मल्ल नेतृत्वको प्रहरी टोली सफल भएको थियो । उनी प्रहरी सेवामा व्यवसायिक दक्षतायुक्त अधिकृतका रूपमा चिनिन्छन् ।