धनगढी । दार्चुलामा कार्यरत प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरा सुदूरपश्चिम प्रदेशकै असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
महाकाली नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरी मानवीय कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै प्रहरी चौकी जोलजिवी, दार्चुलामा कार्यरत कार्यालय सहयोगी महरा प्रदेशकै सर्वोत्कृष्ट बनेका हुन् ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले महरालाई प्रशंसापत्र प्रदान गर्दै उनको साहसिक र प्रशंसनीय कार्यको उच्च मूल्यांकन गरेका छन् ।
प्रहरीका अनुसार गत असार २१ गते साँझ करिब ६ः३० बजे दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ धरमपानीका ३६ वर्षीय करण कोली र उनकी २६ वर्षीया श्रीमती विमला कोली खलंगा बजारबाट घर फर्कने क्रममा मालिकार्जुन गाउँपालिका–७ जोलजिवी क्षेत्रमा आपसमा विवाद भएको थियो।
विवादका क्रममा विमला कोलीले नजिकै रहेको महाकाली नदीमा हाम फालेको जानकारी प्रहरी चौकी जोलजिवीमा प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाको जानकारी पाउनासाथ प्रहरी कार्यालय सहयोगी महरा तत्काल उद्धार कार्यमा खटिएका थिए। उनले जोखिमपूर्ण अवस्थामा नदीमा प्रवेश गरी महिलालाई सकुशल उद्धार गरेका थिए।