विराटनगर । विराटनगरमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका छन्।
सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ घर भई हाल विराटनगर महानगरपालिका–१३ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय सञ्जीव झाले आत्मदाहको प्रयास गरेका हुन् ।
यद्यपी समयमै प्रहरी पुगेर उनलाई सकुशल उद्धार गरेको छ। मोरङका प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पत्नीसँग भएको विवादपछि झाले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको खुलेको छ।
घटनास्थलबाट उनले प्रयोग गर्न तयार पारेको सलाईसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार अपरान्ह करिब ४ः३० बजे युवकले आत्मदाहको प्रयास गरेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरीको सक्रियताका कारण सम्भावित ठूलो दुर्घटना टरेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाले बताए ।
उद्धारपछि झालाई वडा प्रहरी कार्यालयमा राखिएको छ । घटनाको कारण र पारिवारिक अवस्थाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झाको परिवार विराटनगरमै बस्दै आए पनि उनी भने रोजगारीका लागि भारतमा बस्ने गरेका थिए। उनी ४ दिनअघि मात्रै विराटनगर फर्किएका थिए।