जनकपुरधाम । रौतहटका गौतमकुमार सहनीलाई आत्मदाह प्रयासपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय सहनीले मंगलबार राति करिब १ बजे घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको बताइएको छ।
घटनालगत्तै उनलाई बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रिफर गरिएको थियो । यद्यपी हाल उनलाई वीर अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ।
बिहान करिब ४ बजे अस्पतालबाट सूचना पाएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
यससँगै गत हप्ता मात्रै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटनामा तीन जनाको मृत्यु भइसकेको छ ।
गत बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग भएको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए। उनको शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।
यसैगरी गत शनिबार काठमाडौंको बुद्धनगरमा व्यवसायी आश्विन राउतले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगलागीका कारण करिब ६० प्रतिशत जलेका राउतको पनि सोही दिन वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै, गत शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। मण्डलको पनि उपचारकै क्रममा मंगलबार मृत्यु भइसकेको छ ।