काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
प्रहरीका अनुसार मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरिया निवासी २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएका थिए।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार सहनी केही दिनदेखि मानसिक तनाव तथा डिप्रेसनबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनालगत्तै परिवारका सदस्यहरूले उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडा पुर्याएका थिए।
त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । सहनी गरुडा बजारस्थित झाझ पुलनजिक सानो होटल सञ्चालन गर्दै आएका थिए।
सोही व्यवसायबाट उनले आफ्नो परिवार र तीन छोराको पालनपोषण गर्दै आएका थिए। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।