काठमाडौं । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० बुद्धनगर निवासी ४५ वर्षीय राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
आगलागीका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
प्रहरीका अनुसार शनिबार बिहान आफ्नै घरमा राउतले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवादका कारण उनले यस्तो कदम चालेको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
यससँगै पछिल्लो तीन दिनभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटनामा दुई जनाको मृत्यु भएको छ।
बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग भएको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए।
उनको पनि शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।
यस्तै, शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनी हाल उपचाररत रहेका छन्।