विराटनगर । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला पार्टीका दुई प्रभावशाली नेता डा. शेखर कोइराला र डा. प्रकाशशरण महतबीच शनिबार विराटनगरमा भेटवार्ता भएको छ।
डा. महत विराटनगरस्थित डा. कोइरालाको निवास पुगेर भेट गरेका हुन् । भेटमा कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद, पार्टीको संगठनात्मक अवस्था तथा समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ।
पछिल्ला दिनहरूमा कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गर्दै आफ्ना गतिविधिलाई तीव्र बनाएको छ।
उक्त समूहले छुट्टै राजनीतिक दल गठनको तयारी गरिरहेको चर्चा भइरहेका बेला महत–कोइराला भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यही विकसित राजनीतिक परिस्थितिका बीच भएको भेटमा पार्टीभित्र देखिएको असन्तुष्टि, आगामी रणनीति तथा कांग्रेसलाई एकताबद्ध राख्ने विषयमा समेत विचार आदान–प्रदान भएको बताइएको छ।
यद्यपि भेटबारे दुवै नेताले औपचारिक प्रतिक्रिया दिएका छैनन्।