काठमाडौं । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी तथा उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार जारी गरेको विज्ञप्तिमा गणेश नेपालीका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने विषय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने उल्लेख गरेका छन् ।
साथै परिवारलाई आवश्यक मानवीय सहयोग र रोजगारीको व्यवस्था गर्न महानगर प्रतिबद्ध रहेको जनाइएको छ ।
विज्ञप्तिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिलाई काठमाडौँ महानगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
छानबिनबाट प्राप्त निष्कर्ष र सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि महानगरले स्पष्ट पारेको छ।
महानगरले नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता दुःखद घटना पुनः नदोहोरिने वातावरण निर्माण, समाधानका उपाय पहिचान तथा असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान आफू प्रतिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमा राहदानी विभागअगाडि मोटरसाइकल पार्किङका विषयमा नगर प्रहरीसँग भएको विवादपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको र उपचारका क्रममा उनको निधन भएको घटनाप्रति महानगर गहिरो दुःख व्यक्त गरिएको छ।
साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै यस संवेदनशील विषयमा सबैलाई संयम र धैर्यता अपनाउन महानगरले आग्रह गरेको छ।