काठमाडौं । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि सामाजिक सञ्जालमा साढे तीन वर्षअघि प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले व्यक्त गरेको धारणा पुनः चर्चामा आएको छ ।
२०७९ माघमा संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनपछि रवि लामिछानेले फेसबुकमार्फत तत्कालीन सरकारको आलोचना गर्दै नागरिकलाई आत्मदाह गर्नुपर्ने अवस्था आउनु राज्यको असफलता भएको टिप्पणी गरेका थिए ।
उनले त्यसबेला 'यसमा हामी दोषी छौं, म दोषी छु' भन्दै आत्मालोचनासमेत गरेका थिए । उनले लेखेका थिए–‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’
तर गणेश नेपालीको आत्मदाह प्रयासमा उनी चुपचाप छन् । सामाजिक सञ्जालमा त्यही पुरानो अभिव्यक्ति उद्धृत गर्दै वर्तमान सरकार पनि नागरिकप्रति जवाफदेही हुनुपर्ने भन्दै विभिन्न टिप्पणीहरू भइरहेका छन् । केहीले तत्कालीन र वर्तमान राजनीतिक नेतृत्वको भूमिकाबीच तुलना गर्दै प्रश्न उठाएका छन्।
यद्यपि, गणेश नेपालीले आत्मदाहको प्रयास किन गरे भन्ने विषयमा प्रहरीको औपचारिक अनुसन्धान जारी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस घटनालाई ट्राफिक जरिवानासँग जोडिएका दाबी भ्रामक रहेको जनाएको छ।
साथै, घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको र आधिकारिक निष्कर्ष नआउँदासम्म अपुष्ट सूचना नफैलाउन आग्रह गरेको छ।
यसअघि सार्वजनिक भएका केही विवरणमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएपछि विवाद भएको उल्लेख गरिएको भए पनि, घटनाको कारणबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ।
गम्भीर जलनमा परेका गणेश नेपाली हाल वीर अस्पतालको बर्न आईसीयूमा उपचाररत छन्।