काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनालाई ट्राफिक कारबाहीसँग जोडेर प्रचार गरिएका समाचार र सामाजिक सञ्जालका सामग्री पूर्णतः तथ्यहीन र भ्रामक भएको जनाएको छ ।
शुक्रबार जारी विज्ञप्तिमा ट्राफिक प्रहरीले उक्त घटनामा गणेश नेपालीलाई कुनै जरिबाना नगरिएको र ट्राफिक कारबाहीसँग घटनाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
“उक्त घटनामा ट्राफिक प्रहरीले जरिबाना तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्। घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा जरिबाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध रहेको छैन,” विज्ञप्तिमा उल्लेख छ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उक्त घटनापछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले जरिबाना गरेपछि उनले आत्मदाहको प्रयास गरेको दाबी गर्दै सामग्री सार्वजनिक भएका थिए।
तर, ट्राफिक प्रहरी कार्यालयले घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान निकायले कानुनी प्रक्रियाअनुसार अनुसन्धान गरिरहेको जनाएको छ। आधिकारिक पुष्टि नहुँदै सुरक्षा निकायको नाम जोडेर आधारहीन सूचना सम्प्रेषण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न पनि कार्यालयले आग्रह गरेको छ।
यसैबीच, घटनाको प्रारम्भिक विवरणअनुसार राहदानी विभाग अगाडि पार्किङ गरिएको गणेश नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक लगाएको थियो।
त्यसक्रममा नगर प्रहरीसँग विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेको भन्ने विवरण सार्वजनिक भएका छन्। यद्यपि, घटनाको वास्तविक कारणबारे प्रहरीले औपचारिक अनुसन्धान जारी रहेको जनाएको छ।
गम्भीर जलनमा परेका गणेश नेपाली हाल वीर अस्पतालको बर्न आईसीयूमा उपचाररत छन् ।