काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको स्मृतिमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन युथ कांग्रेसमा आबद्ध युवाहरूले भेला भएर गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन्।
सहभागीहरूले उनको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यले नागरिकप्रति देखाउनुपर्ने संवेदनशीलता र उत्तरदायित्वको आवश्यकता औँल्याएका थिए।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो।
उनको मृत्युपछि देशभर घटनाप्रति शोक, आक्रोश र न्यायको माग चर्किएको छ।