काठमाडौं । श्रम संस्कृतिक पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले वर्तमान शासन व्यवस्थालाई व्यंग्य गर्दै ‘देवताको शासन’ को संज्ञा दिएका छन् । उनले यस्तो व्यवस्थामा निमुखा नागरिकले आफ्नो पीडा व्यक्त गर्नसमेत नपाउने र पीडितलाई नै दोष दिने प्रवृत्ति मौलाएको टिप्पणी गरेका छन्।
मृतक गणेश नेपालीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, 'देवताको शासन हो यो ! यहाँ बोल्न पाइँदैन। यहाँ देवतालाई दोष दिए पाप लाग्छ। जरिवाना तिर्न नसकेको भन्दै तिमीलाई नै कमजोर भन्नेहरू उनैका भक्त हुन्।'
साम्पाङले नेपालमा अनुहार फेरिए पनि शासन गर्ने शैली र प्रवृत्तिमा खासै परिवर्तन नआएको जिकिर गरेका छन्। गरिब र श्रमिक वर्गको हित गर्ने राजनीतिक शक्तिलाई नागरिकले नचिनेसम्म देशमा वास्तविक परिवर्तन सम्भव नहुने उनको भनाइ छ।
उनले गणेश नेपालीको घटनालाई सामान्य समाचारका रूपमा नभई सामाजिक अन्याय, विद्रोह र परिवर्तनको प्रतीकका रूपमा आफूले लिएको उल्लेख गरेका छन्।
साथै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै गरिब र निमुखा नागरिकको न्यायका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत नै 'कोही तिम्रो न्यायको पक्षमा उभियोस् वा नउभियोस्, म सधैं तिम्रो पक्षमा बोलिरहनेछु। लाखौं युवाले आफ्नै देशमा रोजगारी पाउनुपर्छ भन्ने माग लिएर सडक, सञ्जाल र सदनमा आवाज उठाइरहनेछु' भन्दै आफ्नो अभियान जारी रहने बताएका छन्।