काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
वीर अस्पतालमा शुक्रबार उपचारकै क्रममा मृत्यु भएका नेपालीको शव राति करिब १० बजे शिक्षण अस्पताल पठाइएको हो।
वीर अस्पतालमा शव सुरक्षित राख्न आवश्यक मर्चरी चेम्बर (कोल्ड स्टोरेज) नभएकाले शव शिक्षण अस्पताल सारिएको वीर अस्पतालका सूचना अधिकारी प्रकाश बुढाथोकीले जानकारी दिए।
सरकार र मृतकका आफन्तबीच माग तथा अन्य विषयमा सहमति हुन नसकेकाले परिवारले हालसम्म शव बुझिसकेको छैन।
शुक्रबार दुवै पक्षबीच अनौपचारिक छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको जनाइएको छ। शनिबार पुनः वार्ता गरी सहमतिको प्रयास गरिने तयारी छ।
गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।