काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म अति महत्वपूर्ण सार्वजनिक सरोकारका विषयबाहेक कुनै पनि सञ्चारमाध्यम, युट्युब च्यानल वा सामाजिक सञ्जाललाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।
सडक ट्राफिक जरिवानासम्बन्धी आफ्नो अभिव्यक्ति विवादमा परेपछि शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पुनले यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, “आजदेखि मैले कुनै पनि ठूला–साना युट्युबर, सामाजिक सञ्जाल र पत्रकारलाई अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन, छैन, छैन।”
केही दिनअघि एक अन्तर्वार्ताका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भएको थियो। त्यसपछि मन्त्री पुनले उक्त भनाइ फिर्ता लिँदै अज्ञानतावश आफ्नो अभिव्यक्तिबाट कसैलाई चोट पुगेको भए क्षमा मागेका छन्।
उनले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गर्दै नियम अटेर गर्नेहरूले “मुटुमा हात राखेर सोच्नुपर्ने” पनि उल्लेख गरेका छन्।
मन्त्री पुनले आफूलाई अन्तर्वार्ताका क्रममा अनावश्यक रूपमा विवादमा तानिएको दाबी गर्दै ट्राफिक जरिवानाबारे आफूलाई जानकारी नभएको बताउँदा पनि पटक–पटक सोही विषयमा प्रश्न गरिएको बताएका छन् ।