काठमाडौं । प्रतिनिधि सभा सांसद महावीर पुनले नेपालको वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले राज्यले विलासी वस्तु र तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्नेमा जोड दिएका हुन् ।
वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको अनुभव सुनाउँदै उनले तयारी अवस्थाका कृषि औजार आयात गर्दा कर नलाग्ने तर स्वदेशमै उत्पादन गर्न आवश्यक कच्चा पदार्थ ल्याउँदा चर्को भन्सार तिर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताए ।
'कच्चा पदार्थमा ठूलो कर लाग्दा स्वदेशी उत्पादन महँगो हुन्छ, जसका कारण हाम्रा उद्योगहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् । विकसित मुलुकहरूले कच्चा पदार्थमा कर लगाउँदैनन्, नेपालले पनि यो नीति अवलम्बन गर्नुपर्छ,' उनले भने ।
उनले सरकारसंग नयाँ उद्यमी र आविष्कारकहरूलाई प्रोत्साहन गर्न सुरुवाती चरणमा कर छुटको व्यवस्था हुनुपर्ने माग गरे।
साथै नेपाली आविष्कारकहरूले आफ्नो सिर्जना दर्ता गर्न विदेश जानुपर्ने बाध्यता रहेको र अन्तर्राष्ट्रिय स्तरमा पेटेन्ट दर्ता प्रक्रिया खर्चिलो हुने भएकाले त्यसमा सरकारले अनुदान दिनुपर्ने उनको माग छ ।