'प्रश्न सोध्नबाट र सत्यको पक्षमा उभिनबाट म एक इन्च पनि पछि हट्ने छैन'
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको अश्लील भिडियो आफूसँग सम्बन्धित नरहेको दाबी गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले असम्बन्धित भिडियो प्रचार गरेर आफ्नो चरित्रहत्या भएको बताएका हुन् ।
यद्यपी यस्तो कार्यले आफूलाई प्रश्न उठाउन वा सत्यको पक्षमा बोल्नबाट रोक्न नसक्ने पनि उनले बताएका छन्।
उनले भने- 'यदि चरित्रहत्या गरेर ज्ञानेन्द्र शाही प्रश्न सोध्नबाट रोकिन्छ वा सत्यको पक्षमा लड्नबाट पछि हट्छ भन्ने सोच राखेका छौ भने, त्यो तिमीहरूको भ्रम मात्र हो। प्रश्न सोध्नबाट र सत्यको पक्षमा उभिनबाट म एक इन्च पनि पछि हट्ने छैन। बरु पहिलेभन्दा दोब्बर दृढताका साथ अघि बढ्नेछु, किनकि म अन्यायविरुद्ध लड्नकै लागि जन्मिएको हुँ भन्ने विश्वास राख्छु।'
उनले आफ्नो चरित्रहत्या गरेर सत्यको पक्षमा उभिने अभियान रोक्न खोजिएको दाबी गर्दै यस्ता गतिविधिबाट आफू एक इन्च पनि पछि नहट्ने र अझ दृढताका साथ अघि बढ्ने उल्लेख गरेका छन्।
जापान भ्रमणका क्रममा एक कार्यक्रममा बोल्दै राप्रपा नेता शाहीले रास्वपा सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै आफू केवल नमस्कार गर्ने नेता नभई गृहमन्त्रीसँग आँखा जुधाएर र औँला ठड्याएर कुरा गर्ने व्यक्ति भएको अभिव्यक्ति दिएका थिए। त्यसपछि रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमार्फत शाहीको आलोचना गरेका थिए।
त्यसपछि आफूमाथि आक्रमणको प्रयास भएको दाबी गर्दै एक व्यक्तिले भिडियो सार्वजनिक गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका थिए ।
त्यसक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछाने तथा रास्वपा समर्थकहरूलाई लक्षित गर्दै विवादास्पद र आपत्तिजनक टिप्पणी गरेका थिए।
शाहीले प्रधानमन्त्रीलाई ‘गँजेडीको ग्याङ’, गृहमन्त्रीलाई ‘टीओबी ग्याङको नाइके’, रास्वपा सभापति रवि लामिछानेलाई ‘सहकारी ठगको ग्याङ’ तथा रास्वपा समर्थकहरूलाई ‘सडकछाप’ र ‘खरानी ग्याङ’ जस्ता शब्द प्रयोग गरेका थिए।
उनले प्रयोग गरेका शब्दलाई लिएर विदेशमा रहेका नेपाली समुदायबाट आलोचना भएपछि उनले पुनः आफ्नो धारणा स्पष्ट पार्दै सम्पूर्ण नेपालीलाई नभई केही निश्चित समूह र प्रवृत्तिलाई मात्र लक्षित गरेर टिप्पणी गरेको बताएका थिए ।
शाहीले आज फेरी सत्य अन्ततः बाहिर आउने विश्वास व्यक्त गर्दै सामाजिक सञ्जालमा गलत सूचना र आधारहीन सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका हुन्।