काठमाडौं। सर्वोच्च अदालतले नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो।
कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)माथि कुटपिट गरेको आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
त्यसपछि सांसद शाहले आफूविरुद्ध जारी भएको सो पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै मंगलबार रिट निवेदन दिएका थिए।
जसमा गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाइएको थियो ।
यससँगै अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णय समेत गरेको छ।