सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
बुधबार सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो।
गुर्भाकोट नगरपालिका-१३ सेराघारीका करिब ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालक भने सकुशल रहेको र बाँकी १९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको उद्धार गरी सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्ये सिम्ता गाउँपालिका-९ का ४० वर्षीय गणेश वलीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।
त्यस्तै, गुर्भाकोट नगरपालिका-१३ की ५ वर्षीया रियाज शाही र तनहुँ घर बताउने ३९ वर्षीया भावना राईको अवस्था पनि गम्भीर रहेको छ। रियाजको कर्णाली केयर अस्पताल र भावना राईको माया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।