धनगढी । डोटीमा यात्रुबाहक ईभी (इलेक्ट्रिक भेहिकल) गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दुर्घटना शनिबार बिहान भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार अछामबाट धनगढी आउँदै गरेको सुपप्र०१–००१ ख ३९५६ नम्बरको ईभी गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई सडक छेउमा दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना यात्रु घाइते भएका छन्, जस मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेलाई उपचारका लागि धनगढीस्थित अस्पताल ल्याइएको छ ।