एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टीले (सीजेपी) बुधबार पनि प्रदर्शन जारी राखेको छ।
वर्षाका बाबजुद प्रदर्शनकारीहरू त्रिपाल ओढेर धर्नामा बसेका छन्। प्रदर्शनप्रति उद्धव ठाकरे र महुआ मोइत्रासहित विपक्षी दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन्। प्रदर्शनकारीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आएका छन्।
उता विद्यार्थीमाथि भएको बल प्रयोगको विरोधमा कांग्रेसले केरल, जम्मु–कश्मीर, असमलगायत विभिन्न राज्यमा प्रदर्शन गरेको छ।
यता, शिक्षामन्त्री प्रधानले सरकारले नीट परीक्षा विवादबारे संसद्मा छलफल गर्न तयार रहेको बताएका छन्।
सोमबारदेखि सुरु भएको प्रदर्शनमा सहभागी हुन हजारौं प्रदर्शनकारी जन्तरमन्तर क्षेत्रमा भेला भएका थिए।
प्रहरीले अनुमति नदिए पनि उनीहरू संसद् भवनतर्फ अघि बढ्न खोजेपछि सुरक्षा बलले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेका थिए ।
प्रदर्शनकारीहरूले एनइइटी परीक्षामा भएको भनिएको धाँधलीको निष्पक्ष छानबिन र केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामा माग गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीको ब्यारिकेड तोड्ने प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। घटनामा कम्तीमा ७० जना पक्राउ परेका छन् भने धेरै प्रदर्शनकारी घाइते भएका छन्।
त्यसपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मध्य दिल्लीका केही क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।
भारतमा पछिल्लो समय विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएका अनियमितताका कारण विवाद चुलिएको हो ।
विशेषगरी भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट प्रशासनिक कमजोरी तथा परीक्षा व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा रहेको छ ।
यसअघि जेठ २३ गते पनि प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।