काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेस महामन्त्री गगनकुमार थापा अन्यत्रबाट सञ्चालित रहेको आरोप लगाएका छन्।
बीपी स्मृति दिवसका अवसरमा कांग्रेसको इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले तत्कालीन प्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले गगन थापा अन्यत्रबाट सञ्चालित रहेको भनेको कुरा अहिले पुष्टि भइरहेको दाबी गरेका हुन्।
उनले गगन थापा र उनको समूहले ‘प्रष्ट कांग्रेस’ र ‘भ्रष्ट कांग्रेस’ भन्दै पार्टीभित्र विभाजनको प्रयास गरेको आरोप लगाउँदै गगनले कहाँबाट कसरी आर्थिक स्रोत परिचालन गर्छन् भन्नेबारे आफूहरू जानकार रहेको दाबी गरे।
आर्थिक रुपमा पनि भ्रष्ट आरोप लगाउँदै भने- 'हामी अहिले सम्झिन्छौं,गिरिजाप्रसाद कोइरालाले त्यसबेला भनेको कुरा गगन थापा कहिँबाट सञ्चालित छन् भन्ने प्रमाणित हुँदै छ । नाङ्गो आँखाले देखिदै छ । त्यसबेला गिरिजाबाबुको विरुद्ध उनीहरुले कपाल खौरेर विरोध गरेको बिर्सन हुँदैन ।'
कार्कीले गगन थापाले नियुक्त गरेका एक उपकुलपतिले ज्यान गुमाएको घटनाको कारणसमेत आफूलाई थाहा रहेको दाबी गर्दै पार्टीभित्रको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे। उनले आवश्यक परे छुट्टै पार्टी गठनका लागि समेत तयार हुन नेतृत्वलाई आग्रह गरेका थिए।