चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीभित्र एकता कायम राख्दै संगठनलाई थप सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्।
उनले पार्टी फुटाउने होइन, जोड्ने र बलियो बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस भरतपुर महानगर समितिले ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले कांग्रेस फुट्नु मुलुकको लोकतन्त्र र विकासका लागि अभिशाप हुने बताए।
उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको हित र राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
उनले नेपाली काँग्रेस लोकतान्त्रिक आन्दोलनको प्रमुख शक्ति भएकाले पार्टीभित्रको एकता अझ मजबुत बनाउँदै जनविश्वास कायम राख्नु आजको आवश्यकता रहेको उल्लेख गरे। पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधिले मुलुकको राजनीतिक स्थायित्वमा समेत असर पार्ने उनको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली काँग्रेसका नेता डा. केदारनरसिंह केसी, चितवन सभापति राजेश्वर खनाललगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षारोपण गरी बीपी कोइरालाको योगदान स्मरण गरिएको थियो।