काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सुकुम्वासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले गरेको वाचा स्मरण गराउँदै कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलिएको टिप्पणी गरेका छन्।
आङ्देम्बेले सुरक्षित आश्रयको आश्वासन पाएका सुकुम्वासी अहिले पनि भोक, पानी, हिलो र असुरक्षाबीच बस्न बाध्य भएको उल्लेख गर्दै यसलाई राज्यको गैरजिम्मेवारी र असफल शासनको उदाहरण भनेका छन्।
आङ्देम्बेले लेखेका छन्- 'ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ । आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?'
उनले होल्डिङ सेन्टरमा पुगेका युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकारमाथि दमन भएको आरोप पनि लगाएका छन्।
उनले थप लेखेका छन्- 'झन दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाले प्रश्न सोध्नुलाई सरकारले अपराध नै ठानिएको देखियो।'
साथै, प्रधानमन्त्रीलाई सुकुम्वासीसँग गरेको प्रतिबद्धताको जवाफ दिन आग्रह गरेका छन्।